गम्भीर घाइते बालकको हेलिकोप्टरबाट उद्धार

बाजुरा । घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालक कृष्टन पाण्डेको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हिमाली गाउँपालिका–६ का २ वर्षिय बालक कृष्टन मामाको घर आएको बेला छतबाट खसेर सिकिस्त घाइते भएका थिए । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेज पु¥याइएको हो ।

बालकको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा उद्धार गरिएको सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुर्घटनामा गम्भीर अवस्थाका घाइतेलाई हवाई सेवामार्फत उद्धार गर्दै आइरहेको छ ।