ह्वात्तै बढ्यो मेगा बैंकको नाफा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको बैंकले जनाएको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड खुद मुनाफा आर्जन गरेको हो ।

चालु आर्थिक बर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड दुई लाख खुद मुनाफा गर्न सफल भएको जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड पुगेको छ । जुन २० प्रतिशत भन्दा बढीले वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ, यो १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर एक सय ११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्र र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।