भ्रमका कारण सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ

कञ्चनपुर । सुक्खा बन्दरगाह निर्माणको कुरालाई लिएर फैलिएको अपवाहका कारण कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको बताइएको छ ।

१२ वर्षअघि सरकारले कञ्चनपुरको कञ्जभोजमा सुक्खा बन्दरगाह निमार्ण गर्ने प्रस्ताव गरेको थियो । तर पछिल्लो दुई वर्षयता स्थानीयवासीको विरोधले प्रक्रिया अघि बढ्न सकेको छैन ।

सुक्खा बन्दरगाह बनेमा पूरै बस्ती विस्थापित हुन्छ भन्ने भ्रमका कारण स्थानीय बासिन्दाले बिरोध गरेका कारण बन्दरगाह निर्माणको काममा ढिलाइ भएको बताइएको छ । स्थानीय जनप्रतिनिधिले सम्झाए, बुझाएपछि स्थानीय सकारात्मक भएको बुझिएको छ ।

मुलुकमा भएको राजनीतिक उतारचढाव र सरकार फेरबदलका कारण पनि सुक्खा बन्दरगाह निर्माणमा ढिलाइ भएको हो । सुक्खा बन्दरगाह निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न स्थानीयवासीलाई सम्झाउन पछिल्लो समय संघीय मन्त्रीदेखि राजनीतिक दलका नेताले समेत प्रयासमा लागेका छन् ।

अहिले स्थानीयवासीले दोधाराभित्रै बस्ती व्यवस्थापन र रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सारेका छन् । भारतीय सीमासित जोडिएको कञ्जभोजमा झण्डै ४०० परिवारको बसोबास छ ।

सुक्खा बन्दरगाहसँगै एकीकृत जाँचचौकी र भन्सार कार्यालयसमेत स्थापना भए विपन्न समुदायको बसोबास रहेको कञ्जभोजको मुहार फेरिने स्थानीय प्रतिनिधिको भनाइ छ ।