नुवाकोटका जनप्रतिनिधिहरूको भारत भ्रमण

काठमाडौं । नुवाकोट जिल्लाका स्थानीय २१ ज्ना प्रतिनिधिले परिचयात्मक भारत भ्रमण गरेका छन् । नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप सरकारका २१ प्रतिनिधिका लागि युएनओपिएसले गत माघ २७ देखि फागुन २ सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको हो ।

दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक प्रतिनिधि भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका विभिन्न प्रविधिको अवलोकन गरेका छन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यीप्रतिनिधिहरुले क्युअर नामक संस्थाको भ्रमण गर्ने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्पपछिको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको पनि भ्रमण गर्ने दूतावासका प्रथम सेक्रेटरी अभिषेक दुबेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नुवाकोट जिल्लामा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन यूएनओपिएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण गर्दै आएको छ ।