इराकमा अमेरिकी दूतावासलाई लक्षित गरि रकेट आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबासलाई लक्षित गरेर रकेट आक्रमण भएको छ । आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने हालसम्म कुनै जानकारी प्राप्त नभएको बताइएको छ । एएफपीका अनुसार बग्दादस्थित उसका रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको जानकारी दिएका छन् ।

आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन । अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो । त्यसको आक्रोशमा इरानले ८ जनवरीमा इराकमा रहकेका दुई अमेरिकी सेनाको आधार शिविरमा मिसाइल आक्रमण गरेको थियो ।