पूर्व उपसभामुखले लिइन कानुनमन्त्रीको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा शिवमाया तुम्वाहाङ्फेलाई आज कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरेकी हुन् । यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

डा तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलगायत उपस्थित थिए ।

तुम्बाहाङ्फेले आजै पदभार सम्हालेकी छन् । शपथग्रहणपछि मन्त्रालय पुगेर उनले पदभार सम्हालेकी हुन् ।