दोहा बैंकबाट दुई अर्ब नेपाल भित्र्याउँदै मेगा बैंक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोहा बैंकबाट दुई अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्राउने सम्झौता गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले कतारको दोहा बैंकबाट दुई करोड अमेरिकी डलर अर्थात करिब दुई अर्ब २५ करोड नेपाली रुपैयाँ भित्र्याउन लागेको बैंकले जनाएको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउने बताइएको छ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था अनुरुप मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ ।