खप्तड गोल्डकपका दर्शकलाई मोबाईल र ३ महिनाको ईन्टरनेट फ्रि

विजेतालाई २१ लाख १ रुपैयाँ

धनगढी । नेपाल आईस चौथो सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणमा दर्शकलाई दैनिक मोबाईल उपहार दिइने भएको छ ।

फागुन ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रत्येक दिन टिकट काटेर आउने दर्शकलाई मोबाईल उपहार दिइने भएको हो । खेल हुने ११ दिनमा टिकट काटेर आउने दर्शकलाई लक्की ड्रमार्फत एक जनालाई झण्डै १३ हजार ५ सय बराबरको मोबाईल उपहार दिइने आयोजकले बताएको छ ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा धनगढी रंगशालामा आयोजना हुने गोल्डकपको टिकट काटेर खेल हेर्ने दर्शकलाई तीन महिनाको ईन्टरनेट पनि फ्रि हुने भएको छ ।

खेल हेर्न गएको टिकटको अर्धकट्टी लगेर जाने दर्शकलाई वराही नेटले तीन महिनाको छुट दिने भएको हो । धनगढीकमा ईन्टरनेट सेवा दिईरहेको वराही नेटले टिकट काटेका सवै दर्शकलाई तीन महिनाको छुटसहितको ईन्टरनेट सुविधा दिने भएको हो ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मोबाईल उपहार दिने र तीन महिनाको ईन्टरनेट फ्रि गर्ने विषयमा सम्झौता भईसकेको जानकारी दिए ।

प्रतियोगितामा दुई विदेशीसहित १२ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैँयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा करिब १ करोड ५० लाख खर्च लाग्ने बताइएको छ ।

गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।

चौधरी गुप्रको सिजी ब्रोअरीको उत्पादन नेपाल आईसको मुख्य प्रायोजन रहने प्रतियोगिताको सह–प्रायोजकमा नेपाल टेलिकम, प्रायोजकमा ग्लोबल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ ।

त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो ।