आज देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको असरका कारण आज देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना छ।

काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मौसममा सामान्य बदली देखिएको छ । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जानकारी दिएका छन् ।

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

तापक्रम भने बिस्तारै देशभर बढ्दै गएको छ । काठमाडौंको बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । मंगलबारको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो ।