विश्वका श्रष्टालाई काली–कर्णालीमा उभ्याइँदै

काठमाडौं । काली कर्णालीलाई नेपाली भाषाको जननीका रुपमा लिइन्छ। यही क्षेत्रबाट जन्मिएको नेपाली भाषा अहिले राष्ट्र भाषाको रुपमा स्थापित छ। तर, यस क्षेत्रको कला साहित्य भने ओझेलमा ।

साहित्यको विकासका लागि स्रष्टा नजुटेका र कार्यक्रम नभएका होइनन्। त्यती गर्दा पनि राज्यको नजर सुदूरका श्रष्ठा र यहाँको कला, साहित्यको विकासका पुग्न सकेको छैन। केन्द्रीकृत सोचले यहाँका श्रष्टा र सिर्जना ओझेलिएको गुनासो यस क्षेत्रले गर्दै आएको छ ।

त्यही अभावलाई कम गर्न सुदूरपश्चिमाञ्चल साहित्य समाजले पहिलोपटक ‘विश्व नेपाली साहित्य महोत्सव’ सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्न लागेको छ। समाजको आयोजनामा यही फागुन १४ गतेबाट साताव्यापी रुपमा महोत्सव हुन लागेको हो।

साताव्यापी चल्ने महोत्सवको राष्ट्रति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत समाजले कार्यक्रमको लोगो तथा कार्यतालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।

समाजका अध्यक्ष रामलाल जोशीले पश्चिम नेपाली भाषाको जननी भए पनि कला, साहित्यमा पछाडी परेको भन्दै यस्तो कार्यक्रम गर्न लागेको बताए।
‘नेपाली भाषा, साहित्य र सभ्यताकै जननीस्थलका रूपमा रहेको सुदूर भूमी अब कुनै अवसरबाट बन्चीत हुनु हुँदैन। आफ्नो क्षेत्रको विकासका लागि पहिला आफै जागरुक हुनुपर्छ’, उनले भने, ‘कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग, व्यापार र समग्र सामाजिक विकासका पक्ष तथा नेपाली भाषा, साहित्य, कलालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।’

पश्चिमको साहित्यलाई विश्वव्यापी गर्ने उद्देश्यले नै विश्वभरी छरिएर रहेका नेपाली भाषी साहित्यकारलाई एकै थलोमा जमघट गराउन लागिएको उनले बताए।

कार्यक्रमका संयोजक यज्ञराज उपाध्ययाले देशमै पहिलोपटक गरिने महोत्सवलाई सफल पार्न सबै पक्षबाट सहयोग पुग्ने अपेक्षा गरे। त्रिनगर माविको प्राङ्गगणबाट बाजागाजा र भाँकीसहितको ¥याली बजार परिक्रमा गर्दै समाजको भवन परिसर हुँदै कार्यक्रम स्थल खुलामञ्चमा पुग्ने उपाध्यायले बताए।

कार्यक्रममा विभिन्न लेखकका कृति विमोचन, श्रष्ठा सम्मान तथा पुरस्कार प्रदान गरिने छ। महोत्सवमा राष्ट्रकवि माधव घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, सिक्किमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार डा पवन चाम्लीङलगायत विशिष्ट स्रष्टा र व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरिने छ।

१८, १९ र २० गते सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश स्तरीय खुला देउडा प्रतियोगीता गरिने, होटल व्यवसायी संघ कैलालीद्वारा महोत्सव स्थलमै फुडफेस्टिवलको आयोजना गरिने जोशीले बताए। कार्यक्रम प्रत्येक दिन विभिन्न सत्रमा चल्ने छ।