अजयबाबुलाई सुरक्षा थ्रेट

काठमाडौं । हाम्रा कुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई सुरक्षा ‘थ्रेट’ बढेको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै महासचिब शिवाकोटीको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

गत विहीबार पहिलोपटक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन सम्बन्धी अडियो समाचारमार्फत सार्वजनिक गरेपछि शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको युनियनको दावी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अडियो सार्वजनिक घट्नापछि महासचिव एवं प्रधानसम्पादक शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विभिन्न व्यक्तिहरुले शिवाकोटीलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धम्क्याउने र अपशब्द प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियनले खेद प्रकट गरेको छ । ‘त्यस्ता व्यक्तिलाई तत्काल कानूनी कारवाही गरी स्वतन्त्र र निर्वाध पत्रकारिता गर्ने वातावरणको ज्ञारेन्टी गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

युनियनले मुलुक र जनताका पक्षमा समाचार लेख्ने र अनियमितता एवं भ्रष्टाचारका काण्ड सार्वजनिक गर्ने पत्रकारले राज्यबाट पुरस्कृत हुनुको सट्टा असुरक्षा महशुस गर्ने अवस्था आउनु भनेको सिंगो पत्रकारिता जगतका लागि दुःखद विषय भएको युनियनको ठहर छ ।

संविधानले ज्ञारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षसँग प्रेस युनियनले माग गरेको छ ।