भरतपुर अस्पताल सिटीस्क्यान मर्मतका लागि बल्ल बोलपत्र

चितवन । भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार काम अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेशिन चालु अवस्थामा छ । दैनिक सय भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ । सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ । बजेटको अभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन ।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, ल्याप्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो । न्यून स्रोतसाधन र जनशक्ति भएर पनि अस्पतालले ठूलो सङ्ख्यामा बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा हाल ६०० श्यया सञ्चालनमा छन् ।