परशुराममा निशुल्क स्वास्थ्य जाँच

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले आगामी फागुन २० गते आँखा र नसा तथा मानसिक रोगको जाँचका लागि निशुल्क व्यवस्था गरेको छ ।

नगरपालिकाको आयोजनामा विशेषज्ञ डाक्टरले आँखा, नसा तथा मानसिक रोगका बिरामीलाई जाँच गर्ने छन् । जोगबुडा अस्पतालमा नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खडकाले फागुन २० गते विहान ९ बजेदेखि स्वास्थ्य जाँच गर्ने नगर प्रमुख भीमबहादुर साउदले बताए ।

त्यस्तै नेपाल नेत्र ज्याति संघ, गेटा आँखा अस्पताल र नगरपालिकाको आयोजनामा २० गते नै ९ बजेदेखि निशुल्क आँखा शिविर समेत सञ्चालन गरिने भएको छ ।

शिविरमा आँखाका रोगीहरुको निःशुल्क अप्रेसन गरिनुका साथै निःशुल्क औषधि पनि उपलब्ध गराइने परशुराम नगरपालिकाले जनाएको छ । ५० वर्ष माथिकालाई विशेष छुटमा चस्मा पनि उपलब्ध गराइने छ ।