धनगढीमा साहित्यिक रौनक, साहित्यकार आउने क्रम जारी

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित विश्व नेपाली साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउनेक्रम जारी छ ।

महोत्सवमा राष्ट्रपति विद्या भण्डारीले उदघाटन गरेको कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार डा पवन चामलिङ, वरिष्ट कलाकार मह जोडी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल सरकारका मन्त्री, विश्वका विभिन्न मुलुकका नेपालीभाषी साहित्यकारलगायत धनगढी आइसकेका छन् ।

महोत्सव अवधिभरि सुदूरपश्चिमका प्रसिद्ध सांस्कृतिक झाँकी– पञ्चेबाजा, गौरा, छलिया, अछामको होरी र रनपुतला, रानाथारुको होरी, सखिया, मुङ्ग्रहवा, हुड्केली, भुवालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभरि ३० भन्दाबढी विभिन्न साहित्य सत्र ,, काव्यसभा, सांस्कृतिक कार्यक्रम हुने छन् । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अनुसार साहित्य र राजनीतिः अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध, सङ्घर्ष र सफलताको कथा, लोकसभा नपढिएको विश्वविद्यालय, स्वाभिमानी जातिका स्वाभिमानी पाइला, सहयात्राः महको मिठास, नेपाली समालोचनाको दशा र दिशा, खतरा छ ? इतिहास र संस्कृति, नेपाली साहित्यमा महाभारतको प्रभाव, हास्यव्यङ्ग्यको झटारोः अप्रियश्चः प्रियताम्, कस्तो छ नेपाल बाहिरको नेपालीभाषी जीवन ? र परिदृश्यमा भोलिको नेपाल विषयमा अन्तरसंंवाद हुनेछ ।

त्यस्तै गजल गुञ्जनः ‘के भुल भयो प्रिया…,’ उमेर संवादः प्रविधि र पुस्ता, आइबीपछिको दार्जिलिङ, आख्यानमा आञ्चलिकता, लेखनमा लिङ्गीय भेदको सकस, द्वन्द्व र दुःखको उल्झनः नारायण । नारायण ।।, भाषा भावनाको कडी, एकताको आधार, कविताको मुकाम, डायस्पोरामा नेपाली साहित्यः जीवनको पलायन कि भाषाको फैलावट, कविताको आराधना, सङ्गठनले धानेको साहित्य, आख्यानको नयाँ लोक, नेपाली आख्यानको परिभ्रमण तथा बर्माको बोलीः माइती देशको कौवा प्यारो शीर्षकमा साहित्य संवाद हुनेछ ।

त्यस्तै साहित्य अन्तरसंवादमा विश्व आकाशमा कहाँनेर छ नेपाली साहित्य ?, आफ्नै परम्परा, सुदूरपश्चिम स्वर्गसरि माया रैजाउ जनमभरि, सांसदका कुराः कति पूरा कति अधुरा ?, स्वर्णकाल पर्खिएको नेपाली गजल, मेरो गाजलः मेरो गजल, कहर काटिएको जिन्दगी, पश्चिमले गर्ला त पूराः आख्यानका अधुरा कुरा ?, सीमान्त कथा, साहित्य र राजनीति कति नजिक कति टाढा ?, विद्वताले नधानेको राजनीति, मुख्यमन्त्रीको प्रदेश सपना, सुरमा बगेको सुदूरपश्चिम, सिमान्त सपनाका ऐंठन, कविता मुक्तिको खोजी कि छन्दको बन्धन, टेलिभिजनको क्रेजः हिजो, आज र भोलि, जीवनः पर्दाभित्र पर्दा बाहिर, मन्त्रीका सपनाः विकासका योजना, मेरो सपनाः मेरो शहर, म झुक्दै नझुक्ने नेपालको छोरो, संस्कृति तथा स्थानीय प्रतिभाको प्रस्तुतीकरण, समृद्धिको सपना र अस्तित्वमा एकताः हिजो, आज र भोलि शीर्षक समावेश गरिएका छन् ।

विश्व नेपाली साहित्य महोत्सवमा सहभागी बन्न नेपालका विभिन्न जिल्ला, शहर तथा भारतका विभिन्न राज्य र अन्य देशबाट नेपालीभाषी साहित्यकार धनगढी आउने क्रम जारी रहेको आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा कुराकानी गर्दै समाजका अध्यक्ष रामलाल जोशीले महोत्सवले विश्वभरिका नेपालीभाषीबीच भावनात्मक तथा भाषिक एकता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, ुनेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थल मानिएको काली–कर्णाली क्षेत्रको धनगढीमा विश्वस्तरको नेपाली साहित्य महोत्सव आयोजनाले निश्चय पनि सुदूरपश्चिम प्रदेश र यहाँको भाषा, संस्कृति, सभ्यता तथा कला, वाङमयलाई विश्वभरि स्थापित गर्ने विश्वास लिएका छौँ ।ु धनगढीमा मात्रै नभएर नेपालमै यो स्तरको साहित्य महोत्सव पहिलो पटक आयोजना भएको जोशीको भनाइ छ ।

आयोजक मूल समारोह समितिका संयोजक यत्रराज उपाध्यायले महोत्सवमा सहभागी बन्न मङ्गलबार साँझसम्म नेपालको झापा, विराटनगर, काठमाडौँलगायतका शहरका साथै भारतको आसाम, सिक्किम, दार्जिलिङ, केरला, आन्ध्र प्रदेशलगायतका राज्यबाट नेपालीभाषी साहित्यकार धनगढी आइपुगेको जानकारी दिए ।

संयोजक उपाध्यायले भने, ुबुधबार बिहान काठमाडौँबाट ५० बढी साहित्यकार आइपग्नुभएको छ, अन्य शहरबाट समेत साहित्यकार आउनेक्रम जारी छ । महोत्सव आगामी २० गतेसम्म सञ्चालन हुनेछ ।ु

दुलहीजस्तै कार्यक्रमस्थल

धनगढीको पुरानो विमानस्थलस्थित खुलामञ्च दुलही झैँ सिँगारिएको छ । ठाउँठाउँमा आकर्षक स्वागतद्वार निर्माण गरिएका छन् । पण्डालसहितको भव्य स्टेज बनेको छ । सँगै अर्को सानो स्टेज बनाइएको छ । कार्यक्रमस्थलको पूर्व र उत्तरतिरबाट विश्व नेपाली साहित्य महोत्सवका चार वटा स्वागतद्वार बनाइएका छन् । पश्चिमबाट प्रथम सुदूरपश्चिम खाना महोत्सवको स्वागतद्वार बनेको छ । खाना महोत्सवमा ३६ वटा कक्ष बनेका छन् । ध्वजापताकाले खुलामञ्च झकिझकाउ सिँगारिएको छ ।

महोत्सवमा भाग लिन विश्वभरबाट नेपालीभाषी साहित्यकार धनगढी आउन थालेका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष जोशीका अनुसार दार्जिलिङ, सिलिगुढी, आसाम, मेघालयबाट साहित्यकारको टोली मङ्गलबार नै धनगढी पुगिसकेको छ ।

सँगै खाना महोत्सव

विश्व नेपाली साहित्य महोत्सवसँगै सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रवद्र्धन गर्न होटल व्यवसायी सङ्घले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सव बुधबारदेखि शुरु भएको छ । खाना महोत्सवमा नौवटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौका परिकार र प्रदेशमा रहेका विभिन्न जातजातिको खाना महोत्सवका मुख्य आकर्षण रहने आयोजक सङ्घका अध्यक्ष कमल बमले बताए ।

सङ्घले महोत्सवमा २८ वटा खानाका र नौ वटा अन्य वस्तुको कक्ष रहने जनाएको छ । महोत्सवका सबै कक्ष प्रवेश निःशुल्क गरिएकोसङ्घका महासचिव केशवदत्त पाण्डेयले बताए ।