धनगढीमा देशका अग्रज सर्जक र श्रष्टा, हरेक दिन उच्चस्तरको साहित्यपान

O डिल्लीराज जोशी

धनगढ । फागुन १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको विश्व नेपाली साहित्य महोत्सव समापन हुन अझै तीन दिन बाँकी छ । चारदिनसम्ममा विभिन्न साहित्यिक सत्र सम्पन्न भइसकेका छन् । धनगढीको खुलामञ्चस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको आँगनमा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म यहाँको माहोल साहित्यमय, संगीतमय बन्ने गरेको छ । विभिन्न सत्रहरुमा साहित्य, सिद्धान्त, विचार, इतिहास, संस्कार, सँस्कृति, लोकगाथा र लैङ्गिकताका विषयमा विचार विमर्श हुने गरेको छ ।

तीं सत्रहरुमा सहभागी हुनेहरुमा देश र विदेशबाट धनगढी उत्रिएका अग्रज, विद्वत र उँचाउँचा हस्तीहरु हुने गरेका छन । साहित्य महोत्सवको पाँचौ दिन शनिबार नौवटा सेसन चल्नेछन् । संगठनले धानेको साहित्यका विषयमा राधेश्याम लेकाली, मोमिला, विवश पोखरेलले बहस गर्नेछन् । यस सत्रको सहजीकरण अनुमप रोशीले गर्ने कार्यक्रम छ । त्यस्तै भूपिनले सहजीकरण गर्ने कार्यक्रममा सरुभक्त, डा सञ्जीव उप्रेती र गनेश पौडेलले आख्यानको नयाँ लोकमाथि बहस गर्नेछन् ।

त्यसलगत्तै नेपाली आख्यानको परिभ्रम विषयमा डा तुलसीप्रसाद भट्टराई, महेश पौड्याल र उदयनाथ अधिकारीले बहस गर्नेछन् । जसको सहजीकरणको भूमिकामा उमा सुवेदी रहेकी छिन् । बर्माको बोलीः माइती देशको कौवा प्यारो शिर्षकमा म्यान्माका साहित्यकारहरु ज्ञानबहादुर थापा बगाले, भीम पाण्डे, भागवत बस्नेतले विचार विमर्श गर्ने छन् । जसको सहजीकरण अश्विनी कोइरालाले गर्दैछन् ।

विश्व आकाशमा कहाँनेर छ नेपाली साहित्य ? शिर्षकमा प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईले बहस गर्नेछन् । उक्त सत्रको सहजीकरणमा अर्चना थापा छन् । महेश चौधरी, लक्की चौधरी र जीवन रानासँग आफ्नै इतिहास आफ्नै परम्परा शिर्षकमा लखन चौधरीले बहस चलाउने कार्यक्रम छ ।

सुदूरपश्चिम स्वर्गसरी माया रैजाउ जनमभरि शिर्षकमा नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, चाँदनी मल्ल र डिक्रादेवी गाइनेले राजेन्द्र शाह वीपीसँग बहस गर्नेछन् । सांसदका कुराः कति पुरा कति अधुरा शिर्षकमा सांसदहरु प्रेम आले, नारदमुनी राना, वीरभान चौधरी, डा रणबहादुर रावलले पत्रकार दिलबहादुर छत्यालसँग बहस गर्नेछन् । स्वर्णकाल पर्खिएको नेपाली गजल शिर्षमा धनश्याम न्यौपाने, धनराज गिरी, वियोगी बुढाथोकी, खगेन्द्र गिरी कोपिला, धनेन्द्र ओझाले जनक रसिकसँग बहस चलाउने छन् । गजल वाचन गरेर डिल्ली समर्पणले आजको कार्यक्रम समापन हुनेछ ।

पहिलो दिन साहित्य र राजनीतिः अन्तद्र्वन्द्व कि अन्तर्सम्बन्ध विषयमा लोकेन्द्र बहादुर चन्द र मोदनाथ प्रश्रितलाई अग्रज पत्रकार नारायण वाग्लेले सहजीकरण गरेका थिए । सोही दिन संघर्ष र सफलताको कथा विषयमा राजनीतिज्ञ शान्ता चौधरी र उमादेवी वादीले बहस गरेका थिए । उक्त सत्रको सहजीकरण मनमोहन स्वारले गरेका थिए । काव्य सभासँगै उक्त दिनको सेसन समापन भएको थियो ।

महोत्सवको दोस्रो दिन चलेका विभिन्न सेसनमा प्राडा जीवेन्द्रदेव गिरी, प्राडा कुसुमाकर न्यौपाने, डा बद्री शर्मा विनाडी, मनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्राडा वासुदेव त्रिपाठी, प्राडा डा महादेव अवस्थी, डा प्रेम कुमार खत्री, डा कृष्णराज सर्वहारी, कृष्ण धरावासी, नीलम कार्की निहारिका, मनोज गजुरेल, विन्द्या सुब्बा (दार्जिलिङ), मीना सुब्बा (सिक्किम), नव सापकोटा (असम) वसन्ती पौडेल (मणिपुर), डा कृष्णराज घतानी (सिलीगुडी), डा दिनेश शर्मा (देहरादून), अमर न्यौपाने, डा टीएन जोशी, गणेशराज जोशी, रत्नमणि नेपाल, लक्की चौधरी, लीला अनमोल, देवप्रकाश त्रिपाठी, बूँद राना, प्रकट पगेनी शिव, श्रेष्ठप्रिया पत्थरलगायतले सहभागिता जनाएका थिए ।

तेस्रो दिनको कार्यक्रममा पनि देश र विदेशका अब्बल श्रष्टाहरुले धनगढी ध्वनिकृत भएको थियो । शुक्रबार सञ्चालित विभिन्न सत्रहरुमा अमर न्यौपाने, अश्विनी कोइराला, तीर्थ गुरुङ, दार्जिलिङका मनप्रसाद सुब्बा, डा कविता लामा, डा गीत क्षेत्री, डा ध्रुवचन्द्र गौतम, सनत रेग्मी, महेशविक्रम शाह, अर्चना थापा, सोविता सिम्खडा, प्राडा चुडामणि बन्धु, प्राडा माधव पोखरेल शरच्चन्द्र वस्ती, डा विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, मनु मञ्जिल, तीर्थ श्रेष्ठ, डा खगेन्द्र लुइँटेल, डा लक्ष्मण गौतम, मोहन सिटौला किसनसिंह धामीलगायतले विविभन्न विषयमा बहस गरेका थिए ।

आउँदा कार्यक्रमहरु थप आकर्षक रहेको आयोजक तथा सुदूपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए । १८ गते विभिन्न सातवटा सत्र राखिएका छन् । ती कार्यक्रमहरुमा मुख्य मन्त्री त्रिलोचन भट्ट, डा. बाबुराम भट्राई, प्रदीप गिरीलगयात आकर्षक व्यक्तित्व रहेका छन् । १९ गते सञ्चालन हुन सेसनहरुमा राजनीतिज्ञ भीम रावल, धनगढीका मेयर नृपवहादुर वड, परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद, झपट बोहरा, प्रकाश शाह, कृष्णराज सुवेदीलगायतले बहस गर्ने छन् ।

काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने दिन अस्तित्वमा एकताः हिजो, आज र भोलि विषयमा नेता एन पी साउद, लखराज भट्ट, रमेश लेखकले बहस गर्नेछन् । सोही दिन काँग्रेस नेता गगन थापा, विष्णु रिमाल र महेन्द्र सापकोटाले समृद्धिको सपनामाथि बहस गर्नेछन् ।