कर्कलोदेखि केराका परिकार एकै थलोमा

O रोहित गिरी

धनगढी । तपाइँ सुदूरपश्चिमका विविध परिकारको स्वाद लिन चाहनुहुन्छ । मांसाहारी र साकाहारी दुबैलाई धनगढीमा चलिरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ ले आतिथ्यताका लागि पर्खिरहेको छ ।

सुदूरपश्चिमका विभिन्न खानाका परिकारहरु एकै थलोमा पाउँदा आगन्तुकहरु आफ्नो रुची अनुसारका परिकारको स्वाद लिएर रमाइरहेका छन् । लोकल कुखुराका पारखीका लागि धनगढीको सिला रेष्टुरेन्टले लोकल कुखुराका आईटमहरु दिइरहेको छ ।

लोकल कुखुराको मासु तारेर खाँदा पनि हुन्छ, साधेर खाना पनि हुन्छ । लोकल कुखुराको सुप होस् वा झोल होस् मन पर्ने परिकार आफ्नै ईच्छा अनुसार बनाउन लगाएर खान पाईने सिला रेष्टुरेन्टी सञ्चालिक सिर्जना मगरले बताइन् । विरयानी खान्छु भन्नेलाई पनि नेपालगंजवाट आएको विरयानी स्टल त्यसको स्वाद दिइरहेको छ ।

कुखुराभन्दा माछाका परिकार खान रुचाउनुहुन्छ भने ड्रिम होटल माछाका परिकारहरु दिन तयारी अवस्थामा छ । तिलहरी माछा खाने की सुकेको माछा खाने वा सिद्रा खाने माछामा सवै तयारी ड्रिम होटलको स्टलमा बनेका छन् । घोँघीको पारखी हुनुहुन्छ भने त्यो पनि पाइन्छ खाना महोत्सवमा राखिएको स्टलमा, माछाका परिकारहरुलाई ग्राहकहरुले रुचाइरहेको होटल ड्रिमका सिइओ देवेन्द्र हमालले बताए ।

होटल ब्यवसायी संघ कैलालीको आयोजनामा मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका १ स्थित खुला मञ्चमा भइरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ मा कुखुरा र माछाका परिकार मात्रै होइनन् मः मः पनि मन परेकै खान पाइन्छ ।

चिकन मःमः को पारखीका लागि स्वादिष्ट चट्नीमा टपरी मःमः खान पाइन्छ । हस्पिटालिटी ईन्टरपेनर लन्स अफ प्वाईन्टले टपरीमा टपरी मः मः को सेवा गर्नका लागि आतुर छ । खाना महोत्सवमा सवैभन्दा वढी रुचाईएको र बिक्री भएको पनि टपरी मःमः नै भएको भन्ने थाहा पाएको स्टल सञ्चालक रोशन बमले जानकारी दिए

माछा मासुभन्दा अन्य परिकार खान मन लागेकाहरुले पनि खाना महोत्सव छोडेर अन्त कतै जानु पर्दैन् । वेकरीका परिकारका पारखीले ग्यालेक्सी क्याफेको स्टलमा गएर वेकरीका आईटम छानी छानी खान पाईन्छ ।

केराका परिकार खान चाहन्छु भने पनि त्यो पनि त्यहाँ सहजै उपलब्ध छ । केराको वाईन र ब्रान्डी मात्रै होईन केराबाट नै बनेको मःमः, पकौडा, टिकिया पुरी, चिप्स, अचार जे पनि खान र लान पाईने स्टलमा वसिरहनु भएका भागीराम चौधरीले बताए ।

फागुन १४ गतदेखि सुरु भएको खाना महोत्सवमा यस्ता विभिन्न परिकारहरुको स्वाद ग्राहकहरुलाई पस्किरहेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिए ।

महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् ।

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाईहेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिए ।

फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन ।