कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा पाँच जना भर्ना

काठमाडौं । कोरोना संक्रमणको शंका लागेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाँच जनालाई भर्ना गरिएको छ । अस्पतालमा चारजनालाई आइतबार र एक जनालाई सोमबार भर्ना गरिएको हो । उनीहरुको कोरोनाको रिपोर्ट परीक्षण भइरहेको र भोली रिपोर्ट आउने बताइएको छ ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले उनीहरुको नमुना संकलनको रिपोर्ट सोमबार आउने बताएका थिए । तर, चीनको वुहानबाट उद्धार गरेर ल्याएर क्‍वारेन्टाइनमा रहेका १७५ जनाको नमुना परीक्षणको रिपोर्ट सार्वजनिक गरेर घर पठाउनुपर्ने भएकाले ढिलो भएको प्रवक्ता बास्तोलाको भनाइ थियो ।

उनले भने, ूहिजो चीनबाट आएका एक र कोरियाबाट आएका तीन जना भर्ना गरिएकोमा आज थप १ जना कोरियाबाट आएका गरी पाँच जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।ू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मंगलबार दिउँसो पाँच जनाकै रिपोर्ट आउने जनाएको छ ।

डब्लुएचओले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा परेको बताएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना संक्रमित मुलुकका लागि अन अराइभल भिसा रोक लगाउनुका साथै कुनै पनि नेपालीलाई अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह गरेको छ ।

हालसम्म विश्वभरी कोरोना संक्रमणबाट तीन हजारको मृत्यु भइसकेको छ भने करिब ९० हजारलाई संक्रमण भएको छ । नेपालमा पनि यसअघि एकजनालाई कोरोना संक्रमण भएको थियो भने आशंका गरिएका दुईजना विदेशी नागरिक भने अस्पतालबाटै भागेका थिए । बाह्रखरीबाट