होली पर्व नमनाउन सरकारको आग्रह

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्रास बढेपछि सरकारले यस वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ ।

सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसवर्षको होलीमा हुलहुज्जत,ठूला जमघट नगर्न आग्रह गरेका हुन् ।

कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै ज्ञावलीले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन आग्रह गरेको बताएका छन् । ‘भीडभाड हुने गरी कुनै काम नगरौं । सकभर भीड हुने कामबाट टाढै बसौँ । यसपटक होली पनि नमनाऔं ।’ ज्ञवलीले भने ।

नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने बताए ।

यस वर्षको होली पर्व फागुन २६ र २७ गते परेको छ । मिथिलाञ्चल क्षेत्रमा सोमबारबाटै होली उत्सव सुरु भइसकेको छ । काठमाडौँमा पनि होली पर्वको विधिवत् सुरूवात मंगलबारबाट भइसकेको छ ।

होली सुरू भएको संकेतस्वरूप वसन्तपुरमा आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको छ । जुन चीर ठड्याएपछि नै काठमाडौं उपत्यकासहित देशैभरि होली पर्व सुरु भएको मानिन्छ ।