मतदाता नामावली अद्यावधिक हुँदै

काठमाडौं । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ ।

मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो । आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन शुरु गरेको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्न गर्न/गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा गर्नुभयो ।

आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ सङ्घसङ्गठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली सङ्कलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन् ।”