विश्व नेपाली साहित्य महोत्सव सम्पन्नः सुदूरको भाषा हराउँदै गएकोमा काँग्रेस सभापति देउवाको चिन्ता

धनगढी । सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको साताव्यापी विश्व नेपाली साहित्य महोत्सव समापन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १४ मा उद्घाटन गरेको महोत्सव मंगलबार काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा समापन भएको हो । महोत्सवमा देश विदेशबाट आएका नेपाली भाषा ,साहित्य ,कला संस्कृति र राजनीति क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुले ५२ ओटा सेसनमा छलफल र बहस गरेका थिए । महोत्सवले यस क्षेत्रमा ज्ञानको क्षितिजमा नयाँ आलोक थपेको विश्वास गरिएको छ ।

समापन समारोहमा काँग्रेस सभापति देउवाले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले सुदूरपश्चिम भाषाको उद्गम थलो भए पनि अचेल डोट्याली भाषा हराउँदै गएको बताउँदै भने, ‘यहाँका मान्छले यहाँकै भाषा बोल्न छोडेका छन् । अंगे्रजी बोल्छन्, धनी र सहरियाका छोराछोरीले त नेपाली बोल्नै जान्दैनन् ।’

मौलिक कला, संस्कृति र भाषा संरक्षणमा लाग्न उनले आग्रह गरे । महोत्सवको समापन समारोहका विश्व नेपाली साहित्य महोत्सव आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । देश विदेशबाट आएका नेपाली भाषी साहित्यकार, राजनीतिकर्मीलगायतको सहभागिता कार्यक्रममा रहेको थियो । महोत्सवमा हरेक दिन विभिध पक्ष, विधा र विचारमा बहस भएका थिए ।

महोत्सवको अन्तिम दिन आज दुई सत्रमा छलफल भएको थियो । ‘समृद्धिको सपना’माथि मंगलबार काँग्रृस युवा नेता गगन थापा र प्राध्यापक महेन्द्र सापकोटाले बहस गरेका थिए । नागरिकमा समृद्धिमा होमिने उत्साह, चेतना जबसम्म हुँदैन तबसम्म मुलुक समृद्धिको मार्गमा अगाडि जान नसक्ने थापाले बताए । राज्यको संयन्त्रको क्षमता नबनेसम्म विकास नहुने उनको भनाइ थियो ।

 

प्राध्यापक सापकोटाले स्वास्थ्य, शिक्षा, यातायातजस्ता सामाजिक उत्तरदायित्वका विषय समृद्धिको बहसमा जति अटाउनु पथ्र्यो त्यति अटाउन नसकेको बताए । पाँच वर्षयता बनेका सरकार मेगा प्रोजेक्ट, ठूलठूला योजनाको अवधारणामा गएको देखिन्छ तर गाउँगाउँका स्वास्थ्य, शिक्षा, सडकजस्ता समस्या नसमेटिएको उनले बताए ।

त्यस्तै आजै सञ्चालित अन्तिम सेसन ‘अस्तित्वमा एकता हिँजो, आज र भोली’ विषयमा कांग्रेस नेता एनपी साउद, रमेश लेखक, मन्त्रप् लेखराज भट्ट र नेकपा नेता कर्ण थापाले बहस गरेका थिए ।

महोत्सव अवधिभर विभिन्न क्षेत्रका अग्रज, लेखक, वुद्धिजीवी, पत्रकार तथा स्थानीय जनप्रतिनिधि सम्मानित भएका थिए । कार्यक्रम साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको सभापतित्वमा सम्पन्न भएको हो ।