आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान प्रत्यारोपण शुरु भएको हो । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो ।

सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको छ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गौला दान गरेकी हुन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनकी बुहारी अन्जनले मृर्गौला दान गरेकी थिइन् ।