नेपालमा परीक्षण गरिएकामा अहिलेसम्म कसैलाई कोरोना भाईरस छैनः डा रुना

काठमाडौं । नेपालमा आफूहरुले अहिलेसम्म गरेको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले स्पष्ट पारेकी छिन् ।

राजधानीमा आयोजित एक कार्यक्रमा उनले भनिन्, ‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हाम्रो ठूलो आलोचना पनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’

निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको जानकारी दिइन् । उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र ज्वरा नै भएको सुनाईन् । उनले यो भाईरसको परीक्षणको लागि लामो प्रक्रिया भएको बताइन् । भनिन्, ‘यसको परीक्षण भनेको पिसिआर हो, हामीले पनि रियल टाईम पिसिआर हेर्ने हो ।’ आफूहरुसँग अहिले चारवटा मेशिन रहेको पनि उनले जानकारी दिइन् ।

निर्देशक झाले अहिलेसम्म गरिएको परीक्षण सबै नेगेटिभ आएको बताइन् । उनले भनिन्, ‘हामीले गरेका परीक्षणमा कुनै पनि पोजिटिभ भेटिएन् ।’ दश जनाको परीक्षणपछि आफूहरुले पूनः भेरिफाईको लागि हङकङ पठाएको र उताको रिपोर्ट पनि आफूहरुसँग मिलेको उनले जानकारी दिइन् ।

झाले आफूहरुले गरेको परीक्षणको कामसमेत विश्व स्वास्थ्य संगठनले ठीक छ भनेर स्वीकारेको बनाइन् । हालै चीनको वुहानबाट उद्धार गरेर ल्याईएका १७५ जना नेपालीहरुको पनि परीक्षण गर्दा रिपोर्ट राम्रो आएको र उनीहरु कसैमा पनि कोरोना नदेखिएको उनले बताइन् ।

उनले आफूहरुको ल्याबलाई डब्लुएचओले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने ल्याबको क्षमता भएको जानकारी दिइन् । हालैमात्र दक्षिण कोरियाबाट आएका एक जना नेपालीलाई ‘श्वासप्रश्वासको समस्या र ज्वरो आएको थियो’ परीक्षण गर्दा उनको पनि रिजल्ट नेगेटिभ आएको जानकारी दिइन् । उनले आफूहरुले ल्याबमा काम गर्दा उच्च सतर्कता अपनाएको विश्वास दिलाईन् ।

डा झाले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबैले मास्क प्रयोग गरौं । विशेषतः रुघाखोकी लागेकाहरुले झनै यसको प्रयोग गर्न जरुरी छ । लगातार सावुन पानीले हात धुनुपर्छ ।’

यो भाईरस हावामा कति दिनसम्म बाँच्न सक्छ ? भनेर अहिलेसम्म आधिकारिक तथ्य बाहिर नआएको पनि उनले स्पष्ट पारिन् । भनिन्, ‘यो अहिले पनि अध्ययनको विषय हो । १०० प्रतिशत रिसर्च भैसकेको छैन् ।’ यद्धपी नौ दिनसम्म पनि बाँच्ने र कसैले २४ देखि ४८ घण्टासम्म बाँच्छ पनि भनेको उनले सुनाइन् ।