गौमाताको सहयोगका लागि महायज्ञ, डेढ करोड सङ्कलन

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन गरिएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब डेढ करोड बराबरको दान संकलन भएको छ ।

गाई संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माणको सहयोगका लागि महायज्ञ संचालन गरिएको हो । नगद तथा भूमिदान गरी एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान संकलन भएको आयोजकले जनाएको छ ।

फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मंलबार मात्रै ३१ लाख ९१ हजार ८२७ संकलन भएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनले यज्ञ सफल बनाउन निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिए ।

गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थ भएको महायज्ञ रामपुरमा हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।