सुधारोन्मुख प्रधानमन्त्रीको स्वास्थ्य

काठमाडौं । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

ओलीले झोलिलो पदार्थहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखेर उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।