विपदमा बेइमानी

सम्पादकीय

चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वभर मानसिक रुपमा आतंक फैलाएको छ । चीनले प्रभावित क्षेत्रमा ‘ल्यान्ड लक’ गरेर घरघरमै राज्यले जनताका लागि सेवा प्रदान गरेर रोग नियन्त्रणको प्रयास गरेको छ ।

अमेरिकाजस्तो शक्तिशाली मुलुकले पनि देशमा नौ जनाको मृत्यु भए पनि शंकटकाल घोषणा गरेको छ । छिमेकी मुलुक भारतमा २९ जनामा कोरोनाको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाएको छ भने यो संक्रमणको असर विश्वभर ७६ भन्दा बढी देशमा देखिएको छ ।

विश्वभर एकखालको मानसिक त्रास छाएका बेला दुई छिमेकी देशका बीचमा रहेको नेपालमा यसको प्रभाव नपर्ने सवाल नै हुँदैन । चीनबाट उद्धार गरि ल्याइएको १७५ नेपाली दाजुभाइमा कोरोनाको संक्रमण नदेखिएको खबरले आम नेपाली खुशी मात्रै भएनन् ‘धन्यवाद भगवा’को भावमा देखिए ।

आपतमा झन आपत पार्ने, मुल्यबृद्धि गर्ने, वा कृतिम अभाव फैलाउनेलाई राज्यले विशेष कानुन बनाएर उसको कारोबार खारेजी मात्र होइन ‘राज्यद्रोह’ सरहको सजाय दिन चुक्नु हुँदैन । त्यसो गरिएन भने राज्यप्रति रहेको जनताको थोरै भरोसा पनि खरानी हुनेछ ।

तर, विभिन्न आशंकामा स्वास्थ्य परिक्षणमा पुगेका एक दर्जन नेपालीमा पनि कोरोना संक्रमण नभएको रिपोट एकातिर आइरहेको छ भने अर्कोतिर सरकारसहित स्थानीय सरकार, शैक्षिक संस्था, प्रशासनदेखि विभिन्न संघ संगठनले ‘ठूलै विपद’ आइलागे जसरी विज्ञप्तिबाजी गर्नुले आम नागरिक थप त्रसित र सोचमग्न बनेका छन् । हो, सूचना प्रवाह गर्नु, सचेत हुन आग्रह गर्नु वा सतर्कता अपनाउन अपिल गर्नु गलत हो भन्न खोलिएको होइन, तर एकातिर संक्रमण नै नदेखिएको रिपोर्ट आइरहँदा भेला, सम्मेलन, शिक्षालय, भीडभाड हुने स्थानमै नजान वा अत्यावस्यक काम बाहेक घरबाटै ननिस्कनजस्ता अपिलले आमजनतामा आशंका अझ बढाएको छ ।

तर राज्यको तयारीको स्तर भने देखिने गरि न केन्द्रमा भएको छ न स्थानीय तहमा । बरु हात धोउ, मास्क लगाऊ, भीडमा नजाऊ, योभन्दा धेरै केही भए ‘भगवान भरोसा’ को अवस्थामा सरकार देखिएको छ । एकाएक सचेतना र सजगताका लागि फैलिएको हल्लाले बरु बजारमा कालाबजारी भने चलमलाएको अवस्था छ । मास्कदेखि, रुघाखोकीको औषधि, सरसफाइका सामान मात्र होइन, दाल चामल, खाद्यान्नसम्म गोदाममा भरेर बजारमा ‘अभाव’ देखाउनेहरु सक्रिय भएको भान हुन थालेको छ ।

विपदमा सहयोग गर्ने, आपतमा सदभाव राख्ने नेपाली संस्कृति महाभूकम्पदेखि नै यतिबेला पनि कमजोरीको फाइदा लुट्ने दाउमा लागेको देखिन्छ । अन्य र अरुबेला वा सामान्य अवस्थामा कसैले केही गरोस त्यो क्षम्य होला तर विपदमा फाइदा उठाउनेहरुको बेइमानी कदापी क्षम्य हुनु हुँदैन ।

यस्तो बेला राज्य संयन्त्र चनाखो र सक्रिय हुन जरुरी छ । आपतमा झन आपत पार्ने, मुल्यबृद्धि गर्ने, वा कृतिम अभाव फैलाउनेलाई राज्यले विशेष कानुन बनाएर उसको कारोबार खारेजी मात्र होइन ‘राज्यद्रोह’ सरहको सजाय दिन चुक्नु हुँदैन । त्यसो गरिएन भने राज्यप्रति रहेको जनताको थोरै भरोसा पनि खरानी हुनेछ ।