कोरोनाको त्रासबीच कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

काठमाडौं । कोरोना भाइरसको त्राससँगै सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तु लुकाउने र बढी मुल्य लिने गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेडिकल क्षेत्रको बजार अनुगमन ध्यान केन्द्रि गरेको छ । महंगोमा बेच्ने र लुकाउनेलाई विभागले कडा कारवाही गर्ने भएको छ ।

विभागले क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने मनसायले माक्स लुकाएको अभियोगमा दुई लाख जरिवाना गराएको छ । क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार जरिवाना गराएको विभागले जनाएको छ ।

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव बनाइएपछि विभागले यो हप्तामात्रै एक दर्जनभन्दा बढी मेडिकलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर लिने गरिएको पाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए।

व्यवसायीले ५ रुपैयाँ पर्ने सर्जिकल माक्सलाई ३०÷४० रुपैयाँसम्म बेच्ने गरेको पाइएको छ ।