कोरोना भाईरसबारे सजगता बढ्दै, सचेत हुन आग्रह

धनगढी । धनगढीमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवसायी संघ कैलाली, बैंकर्स क्लब धनगढी हेल्प प्रालि र बैतडी समाजको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

धनगढीमा आयोजना गरिएको कार्यक्रममा कोरोना भाईरसबाट बच्नका लागि सजकता अपनाउनुपर्नेमा जोड दिइएको छ । यसको संक्रमण फैलन नदिनका लागि सरकारलाई संवेदनशील हुन पनि सरोकारवालाले आग्रह गरेका छन् ।

कोरोनाको संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा संक्रमण भएर मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग भएकाले जोगिनका लागि सवैलाई कार्यक्रममार्फत जानकारी समेत दिइएको छ ।

यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाइसंग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा बस्न, मास्क लगाउन, साबुन पानीले कुहिनासम्म हात सफा गर्न, केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न समेत अनुरोध गरिएको छ ।

कोरोना भाईरसको सम्वेदनशिलताका लागि धनगढी उप–महानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसको भिडाभाडमा गरिने किसिमका कार्यक्रम आयोजना नगर्न धनगढी उपमहानगरपालिकाले यसअघि नै आग्रह गरिसकेको छ ।