इटालीमा कोरोना भाइरसबाट १४८ को मृत्यु, अमेरिकामा शंकटकाल

एजेन्सी । इटालीमा कोरोना भाइरसबाट १४८ जनाको मृत्यु भइसकेको समाचार माध्यमहरुले जनाएका छन् इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार बाहिरिएको छ । योसहित यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो ।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको छ ।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ । तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको शुक्रबार सञ्चारमाध्येमले जनाएका छन् ।