कोरोनाप्रति गण्डकीमा सतर्कता, तीन महिनालाई पुग्ने औषधि मौज्दात

कास्की । औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको बताइएको छ ।

नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले हल्ला गरिएजस्तो औषधि अभाव नरहेको तर पछिल्लो समय मास्कको मूल्य केही वृद्धि भएको बताए ।

उनले केही औषधि भन्सारमा रोकिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिए । उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए । उनले बजारमा खाद्य सामग्री तथा औषधिको अभाव हुन नदिन तथा आपूर्ति प्रणाली सहज बनाउनेतर्फ संघले सबै सरोेकारवाला निकायसँग सहकार्य गरेको उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले कोरना भाइरसविरुद्धको सचेतना अभियानलाई चुस्त बनाउँदै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट कोरोनाबारे जानकारी दिँदै डा राजीव लालचनले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको हुँदा यसबारे सचेतना अपनाउन सबैसँग आग्रह गरे ।