कोरोना सङ्क्रमणः संसारका १०१ देशमा, तीन हजार पाँच सय ९५ को मृत्यु, चिनमा घट्दै

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड–१९ विश्वका १०१ देशमा फैलिसकेको छ । विश्वभर संक्रमितको संख्या एक लाख पाँच हजार आठ सय ३६ पुगेको छ । कोभिड १९ को संक्रमणबाट तीन हजार पाँच स ९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ ।

डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार पाँच सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार एक सय ६२ जनाको मृत्यु भएको छ ।

यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६ सय ६५ रहेको छ भने दुई सय ६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार एक सय ५८ सङ्क्रमित व्यक्ति रहेका छने भने त्यहाँ एक सय ४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल दुई सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

चीनमा सङ्क्रमण र मृत्युदर घट्दै
सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६ सय ९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । यसबाट सो अवधिमा चीनमा तीन हजार ९७ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप सङ्क्रमितको सङ्ख्या ४४ रहेको छ भने यही समयमा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो ।

अहिलेसम्म चीनबाहिर सङ्क्रमितको सङ्ख्या २५ हजार एक सय ४१ रहेको छ भने चार सय ९८ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् ।

दक्षिण कोरियामा सात हजार तीन सय १३ सङ्क्रमित रहेका छन्, ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार आठ सय ८३ सङ्क्रमित भएका छन् भने दुई सय ३३ को मृत्यु भएको छ । इरानमा पाँच हजार आठ सय २३ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक सय ४५ जनाको मृत्यु भएको छ । फ्रान्समा नौ सय ४९ सङ्क्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ ।

जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६ सय ८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा सङ्क्रमण भेटिएका यात्रुबाहेक कूल चार सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा केही नियन्त्रण
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण विगत २४ घण्टामा थप दुई सय ७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात हजार तीन सय १३ पुगेको छ । विगत एक सातालाई मुल्याङ्कन गर्दा कोरियामा नयाँ सङ्क्रमणदरमा निकै कमी देखिएको छ । यहाँ गत साताको मध्यतिर सङ्क्रमण दर दैनिक ५ सय भन्दा बढी रहेको थियो । दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस सङ्क्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ ।