धनगढीमा कालोबजारी गर्ने व्यापारीलाई दुई लाख जरिवाना

धनगढी । आम जनता कोरोना भाइरसको त्रासमा रहेका बेला बढी मूल्यमा मास्क बेच्ने व्यापारीलाई कारबाही गरिएको छ । उच्च मूल्य, उपभोग्य अवधि सकिएका सामान बेचेको र लेवल नभएका सामान बेचेर कालोबजारी गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले एक व्यापारीलाई कारबाही गरेको हो ।

धनगढीको न्यू सुशील श्रृङ्गार पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख कमल पुनले जानकारी दिए । सो पसलले ६ रुपैयाँ पर्ने अर्डिनरी मास्कको ३० रुपैयाँ लिने गरेको पाइएको छ । उपभोक्ता कार्यालयले एक जना कर्मचारीलाई ग्राहक बनाएर पठाएपछि ६ रुपैयाँ खरिद बिल भएको मास्कलाई ३० रुपैयाँमा दिएको थियो ।

त्यस्तै सन् २०१७ मै उपभोग्य अवधि सकिएको बडी स्प्रे, क्रिमलगायत श्रृङ्गार सामग्री बिक्री गरेको पाइएको कार्यालयले जनाएको छ । उत्पादन र उपभोग्य मिति नभएका सामान पनि सुशील श्रृङ्गारले बिक्री गरिरहेको फेला परेको कार्यालय प्रमुख पुनले बताए ।

उनकाअनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पसल सञ्चालक सन्ध्या अग्रवाललाई अनुगमन स्थलमै दुई लाख जरिवाना गरिएको थियो । उपभोग्य अवधि सकिएका, उत्पादन र उपभोग्य मिति नलेखिएका सामानसमेत जफत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उपभोक्तालाई ठगी गरेमा, उपभोग्य बस्तुको कालोबजारी गरेको पाइएमा
अनुगमन स्थलमै तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनमा छ ।