हिमालयन म्युजिक अवार्ड सम्पन्न

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र र म्युजिक भिडियोका विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्ड कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले कलाकारले समाज र राष्ट्रलाई जागृत गराउने भएकोले स्रष्टाको सम्मान नै समग्र मुलुकको सम्मान भएको बताए । उनले यस किसिमको सम्मान सरकारले नियमित गर्नुपर्ने बेलामा केही संघसंस्था अघि सरेकोमा धन्यवाद दिए ।

यसैगरी नेपाली कांग्रेसमा नेता एवं पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले विभिन्न विधाका स्रष्टाहरुले नेपाली समाजलाई गोलबद्ध गर्दै अन्तर्रा्ष्ट्रिय रुपमा मुलुकलाई चिनाएकोमा खुशी व्यक्त गरे ।

हिमालयन नेपाली इभेन्टस प्रा.लि. ले आयोजना गरेको अवार्ड युएईमा तय भएतापनि कोरोना भाइरस संक्रमणको कारणले काठमाडौंमा गरेको अध्यक्ष सविन घिसिङले जानकारी दिए ।

अवार्ड कार्यक्रम यसअघि मलेसिया र कतारमा सम्पन्न गरिसकेको छ । कार्यक्रममा गीतकार भरत बमजन, गायक लाक्पा शेर्पा, साहित्यकार योगेश राल्फाली, नेशनल मिडिया सर्भिस प्रालिका प्रबन्ध निर्देशक अदिप पाठक, गायक शुभबहादुर, तामाङ चलचित्र निर्देशकद्धय विनय दोङ र अरुण घिसिङ लगायतले अवार्ड प्रदान गर्दै शुभकामना दिए । कार्यक्रममा विभिन्न विधामा ४१ जनालाई सम्मान गरिएको थियो ।