भक्तपुरमा कालोबजारी, नुन, चिनी र ग्यासको अभाव

भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव देखिएको छ । अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा भक्तपुरमा खाद्यान्नमा कालोबजारी बढेको हो ।

चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको त्रासका कारण खाद्यान्नको आयात रोकिने डरले खाद्यान्नको माग ह्वात्त बढेपछि भक्तपुरको बजारमा नुन, चिनी र ग्यासको कृतिम अभाव बनाइएको उपभोक्ताहरु बताउँछन् । अन्य खाद्यान्नमा व्यापारीले मनोमानी मूल्य असुल्न थालेको पनि जनगुनासो बढेको छ ।

भक्तपुरमा सोमबारसम्म जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । भक्तपुरको बजारमा मास्क, स्यानेटाइजर, चिनी, नुन र ग्यास नपाएपछि उपभोक्ता य भौतारिएका छन् ।

यहाँका उपभोक्ता भाटभटेनी, काठमाडौंका सुपरमार्केटमा धाउन वाध्य भएको गुनासो गरिरहेका छन् । कमलविनायक बस्ने कमल रानाले स्थानीय बजारमा नुन, चिनी र ग्यास पाइन छोडेको बताए । उनले मास्क, स्यानेटाइजरलगायतका बस्तु कतै पनि नपाउने गरेको बताए ।

ठूला पसलहरुले पनि दालमा प्रतिकिलो १० देखि २५ रुपैयाँ सम्म मूल्यवृद्धि गरेका छन् । नुन र चिनी आफ्ना नियमित आउने ग्राहकलाई पनि दिन नसकेको स्थानीय व्यापारीको भनाइ छ ।

मध्यपुरथिमि कौशल्टार मिनीमार्टका सञ्चालक पवन थापाले नुन र चिनी बजारमा कतै पनि नभएको बताए । विशेष गरी रेष्टुराँ, होटल र ठूला औद्योगिक कार्यालयले महँगो रकम तिरेर धेरै सङ्ख्यामा ग्यास लैजाँदा उपभोक्ताले अभाव झेल्नुपरेको ग्यास व्यापारी बताउँछन् ।

बजारमा नुन, चिनी र ग्यास नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको रानाको भनाइ छ ।