काँग्रेसमा सामेल हुँदै सुनील

अक्षरपाटी विशेष
राप्रपा र राप्रपा (संयुक्त) मिलेर बनेको राप्रपाको एकता घोषणासभामा तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गीता छोएर ‘अब कहिल्यै पाटी नफुटाउने’ बाचा गरे । तर उक्त सभामा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा अर्थात राप्रपा (संयुक्त)का प्रभावशाली नेता पूर्वमन्त्री सुनीलबहादुर थापा नजर आएनन् । उनको अनुपस्थितिलाई लिएर धेरैले ‘मुखामुख’ गरे । आगन्तुक, एकतासभामा सामेल पार्टीका नेता कार्यकर्ता ससंकित बने ।

तर सुनीलबहादुर थापाले भने एकतापछि राप्रपाले लिएको ‘लाइन’प्रति असन्तुष्टि जनाउँदै सभा बहिस्कार गरेको स्रोतको दावी थियो । त्यति लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई बेवास्ता गर्दै राप्रपाले पुनः राजसंस्थाको लाइन लिएका कारण उनले बहिस्कार गरेको एक नेताले बताए ।

एकताको छलफलदेखि नै थापाले राजतन्त्र ब्युँताउने कुरा पार्टीले त्याग्नुपर्ने अडान लिँदै आए पनि एकता घोषणासम्म पुग्दा उक्त लाइन नछाडेकाले उनले घोषणासभा मात्रै होइन पार्टी नै त्याग्ने मनसाय बनाएको बुझिएको छ । उनले संविधानसभाबाट जारी गरिएको संविधानमा आफूले समेत हस्ताक्षर गरेको र गणतन्त्र र संघीयता आफूले स्वीकार गरेकाले आफ्नै निर्णयको विरुद्ध आफू जान नसक्ने अडान थापाको भएको स्रोतको दावी छ ।

उनले विचारमा विचलन देखेपछि राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गर्ने अन्तिम तयारी गरेको बुझिएको छ । आफैले हस्ताक्षर गरेको संविधानका विरुद्ध आफू जान नसक्ने भएकाले सुनील बहादुर थापा काँग्रेस प्रवेशको तयारीमा रहेको काँग्रेस स्रोतले पनि पुष्टि गरेको छ । संविधानले व्यवस्था गरेको नयाँ संरचनाअनुसार नयाँ निर्वाचन गराउने काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारमा थापा उद्यागमन्त्री थिए । त्यतिबेला उनी सम्बद्ध जनशक्ति पार्टीले संघीयताको पक्षमा मतदान गरेको थियो । एकतापछि पनि राप्रपाले गणतन्त्र स्वीकारेको थियो । त्यसबेला सूर्यबहादुर थापाले ‘परिवर्तन स्वीकार्नुपर्छ’ भन्ने मान्यता बोकेका थिए ।

समयसापेक्ष चल्न सक्ने आफ्नै बुवाको प्रभावबाट प्रेरित थापा एकतामा पुगेको राप्रपाले पुनः राजसंस्था बोकेपछि पार्टी त्याग गर्ने मनसाय बनाएको बुझिएको छ । उनी आफूमात्र नभएर सूर्यबहादुर थापालाई मान्ने पुरै समुहलाई लिएर काँग्रेस प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बतायो । हाललाई कुनै पदीय हैसियतबिना पार्टी प्रवेश गर्न लागेका थापालाई काँग्रेसले ‘सबैलाई समेटने, सबैलाई अटाउने’ नीति अनुरुप उचित स्थान दिने बुझिएको छ ।