सबैलाई समेटदै देउवा, आफ्नै एजेन्डा कुल्चिँदा कमजोर पौडेल

अक्षरपाटी विशेष

१४ औँ महाधिवेशनको पूर्वसंध्यामा रहेको काँग्रेसमा यतिबेला सतहमा नेतृत्वको रस्साकस्सी देखिएको छ । तर, आन्तरिक रुपमा भने पार्टी सभापति शेरबहादुर देउवाले मिहिन व्यवस्थापनसहित बलियो पकड बनाएको बुझिन्छ । देउवा बलियो हुँदैगर्दा काँग्रेस नेता रामचन्द्र पौडेल भने आफ्नै एजेन्डाका कारण कमजोर बन्दै गएको विश्लेषण काँग्रेस बृतमा हुने गरेको छ ।

पार्टीमा ‘गुट समाप्ति’को संकल्प गरेर १३ औँ महाधिवेशनमा होमिएका पौडेलले निर्वाचनमा पराजय भोगेको भोलिपल्टबाटै ६०÷४० को भागबण्डा खोजेर आफ्नै संकल्पको खिल्ली उडाउने क्रम आजपर्यन्त जारी छ । उनी कुशल विचारक भए पनि कमजोर नेतृत्वदायी क्षमता, संकिर्णता, कमजोर संगठनकर्ता, नेताकार्यकर्तालाई मिलाएर जान नसक्ने क्षमता, सिमित वृत्त र आफ्नै क्षेत्रमा पनि फितलो परिणामका कारण उनी नेतृत्वदायी भूमिका भन्दा ‘च्याखे थाप्ने’ प्रवृत्तिमा उत्रिएपछि उनकै विश्वासपात्र पनि उनीसँग दुरी बढाउन वाध्य भएका हुन् ।

राजनीतिक नियुक्ति, काँग्रेसका भातृ र भगिनी संगठनदेखि पार्टीका अन्य क्षत्रमा पनि उनले भागबण्डालाई नै प्राथमिकता दिएपछि गुटीय राजनीतिले काँग्रेसमा प्रश्रय पाएको विश्लेषण काँग्रेसजनले नै गर्ने गरेका छन् ।

पौडेलले आफ्नै एजेण्डालाई आफैले उलंघन गरेपछि उनी निकट मानिने दर्जनभन्दा बढी केन्द्रीय सदस्य सभापति देउवा निकट बनेका छन् । डा. नारायण खड्का, आनन्द ढुंगाना, गोविन्द भट्टराई, चीनकाजी श्रेष्ठलगायत नेता देउवा समुहमा प्रवेश गरिसकेका छन् । महेश आचार्य, नरहरी आचार्यलगायतका ओजशाली नेता देउवासँग निकट भइसकेका छन् ।

त्यो बाहेक नेविसंघको अध्यक्षदेखि पूर्वमन्त्री र केन्द्रीय सदस्य बनेर देशभर कुशल संगठनकर्ताका रुपमा स्थापित नेता एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, रमेश लेखक, गोविन्द भट्टराई, धनराज गुरुङ, किशोरसिंह राठोरलगायतका नेता देउवालाई भित्रैदेखि सघाइरहेका छन् । यसअघि तटस्थ भूमिकामा रहेका विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताका रुपमा देउवालाई साथ दिइसकेका छन् । उनी युवापुस्तामाझ निकै शालिन, प्रभावशाली नेता मानिन्छन् ।

जिल्लाबासी प्रभावशाली नेता गोविन्दराज जोशीलाई कहिल्यै निकट बनाउन नसकेका पौडेलले काँग्रेसको किल्ला मानिने तनहुँमै निर्वाचनमा पराजय मात्र भोगेका छैनन उनले शंकर भण्डारी, धु्रव वाग्लेलगायतका नेतालाई पनि आफूसँग टिकाइ राख्न नसकेपछि उनको पार्टीमा राजनीतिक अवस्था निकै कमजोर मानिन थालेको छ । त्यो मात्र होइन संस्थापनबाट पार्टी सभापति देउवा १४ औँ महाधिवेशनमा एक्ला उम्मेदवारका रुपमा देखिएका छन् भने पौडेल पक्षबाट महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सुजाता कोइराला लगायत दाबेदार देखिनुले पनि उनलाई महाधिवेशनमा होमिन निकै सकसको अवस्था भएको राजनीतिक विश्लेषण गरिएको छ ।

देउवाले भने पार्टीमा एकपछि अर्को वातावरण आफू अनुकूल बनाउने कार्यलाई निरन्तरता दिएका छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारलाई घर (पार्टीमा) फर्काएर देउवाले आफ्नो मजबुत अवस्था प्रस्तुत गरेका छन् । हाल उनले गच्छदारसँग गरेको सहमति अनुरुप नै ११ सदस्य दिइसकेका छन् भने विभिन्न विभाग गठनमा गच्छदार र अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौला निकटका नेताहरुलाई समेटेर आफ्नो प्रभावलाई थप दरिलो बनाएको एक केन्द्रीय नेताले बताए ।

तर नेता रामचन्द्र पौडेलले भने सभापति देउवाले विभागको नेतृत्वका लागि नाम माग्दा पनि बिरोधका नाममा बिरोध गर्नका लागि कुनै नाम उपलब्ध नगराएको चर्चा काँग्रेसमा छ । यसले पौडेल निकटका नेताहरु नै ‘भागबण्डामा विश्वास गर्नेले अहिले अर्थहीन बिरोध गरेर आफ्नै घेरा कमजोर बनाएको’ भन्दै टाढिन थालेको काँग्रेस स्रोतले बतायो ।

तर देउवाले भने पार्टीको विधान र केन्द्रीय समितको निर्णय अनुरुप नै केन्द्रीय सदस्य र विभिन्न विभाग विस्तार गरेर पार्टीलाई चलाएमान र नेता, कार्यकर्तालाई भूमिका दिन खोजेको बताइएको छ । यसले पार्टी र पार्टी गतिविधिलाई देशभर एकखालको ‘भाइब्रेट’ गर्ने र भूमिका पाउनेहरु देउवाकै पक्षमा उभिने विश्लेषण काँग्रेसमा हुन थालेको छ ।