सभा, सम्मेलन र जमघट गर्न सरकारद्वारा रोक, रेडक्रस र प्रेस युनियनको अधिवेशन प्रभावित हुनसक्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सात सय ५३ वटै स्थानीय निकायलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव, अधिवेशन, निर्वाचन एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न पत्र लेखेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र लेख्दै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको उक्त पत्रले अब आसन्न विभिन्न निकायका सभा, सम्मेलन, अधिवेशनहरु प्रभावित हुने देखिएको छ । सरकारको पत्रले आगामी चैत तेस्रो साता तय भएको नेपाल रेडक्रस सोसाइटी र नेपाल प्रेस युनियनको महाधिवेशन प्रभावित हुने आशंका बढाएको छ ।

मन्त्रालयले मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाउन र सबै यात्रुको स्वास्थ्य जाँच÷स्क्रिनिङको कालाई प्रभावकारी बनाउन पनि निर्देशत दिएको छ ।

भारतमा पनि कोरोना संक्रमण देखिएकाले नेपालको भारतसँग सीमा जोडिएका जिल्लाहरुमा झन उच्च सतर्कता अपनाउन सरकारले स्थानीय निकाय र प्रशासनलाई निर्देशत गरिसकेको छ । सबै अस्पताल, स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी छुट्टै श्ययाको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी व्यवस्था मिलाउनसमेत पत्रमा भनिएको छ ।

छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएका मुख्य नाका नेपालगञ्ज, पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, धनगढी, गड्डाचौकीलगायत ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न, सीमावर्ती क्षेत्रमा आवतजावत नगर्न नेपालीलाई सूचना दिन पनि मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ ।

यसले यी जिल्लामा निर्धारण गरिएका सबैखाले कार्यक्रम स्थगित र प्रभावित हुने देखिएको छ ।