एक सय २५ देशमा कोरोना सङ्क्रमण, चार हजार सात सयको मृत्यु, ६८ हजारको उपचार

एजेन्सी । विश्वभरी महामारीका रूपमा देखिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देशमा फैलिएको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार एक सय ५८ जनामा सङ्क्रमण देखिएको छ ।

तीमध्ये चार हजार सात सय ४९ जनाको मृत्यु भइसकेको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार ६५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६ सय ५५ जनामध्ये ५० हजार ४४ जनाको अवस्था सामान्य छ । तर पाँच हजार सात सय ११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर छ ।

रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । इरानमा हालसम्म चार सय २९ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सय ७६ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलोपटक एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी छन् ।

पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।

सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः एक सय ८७ र एक सय ५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।