भारतले सबै पर्यटक भिसा बन्द गर्यो

एजेन्सी । विश्वव्यापी रुपमा बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।

भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।
भारत सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा सो जानकारी गराइएको हो ।

आजै मध्यरातिदेखि भारतले यस्ता भिसाहरु बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ ।

भारत सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने जनाएको छ ।

ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् । तर यसबाट कसैको मृत्यु भने भएको छैन । विश्वका १२५ देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार सात सय पुगेको बताइएको छ ।