कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स, प्रम ओलीले भनेः हामीले सक्दो तयारी गरेका छौँ

सार्क देशका लागि इमर्जेन्सी फन्ड

काठमाडौं । प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीच अहिले आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको सचेतनाबारे नेपालले चालेका कमदबारे जानकारी गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कन्फरेन्समा भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२२ तथा तेस्रो मुलुकका गतिविधि र अन्तर्राष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको जानकारी गराए ।

उनलेअन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘कोभिडविरुद्धको अभियानका लागि नेपाल सचेत रहेको छ । रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।’

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गरे । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुभएकामा मोदीलगायत सार्कका नेताहरुलाई धन्यवाद समेत दिए ।

‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरसः सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् गरेको आग्रहलाई सदस्य मुलुकले स्वागत गरेका थिए ।

मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी कन्फरेन्समा सहभागी भएका हुन । भिडियो कन्फ्रेन्सका लागि सम्पूर्ण प्राविधिक व्यवस्थापन प्रधानमन्त्रीका विज्ञान तथा प्रविधि विज्ञ असगर अलीले मिलाएको बताइएको छ ।

कोरोना भाइसरको बढ्दो प्रकोपलाई रोक्नका लागिसर्क देशहरुको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौँ देशलाई एक ठाउँमा आउन अपिल गरे । उनले यो विकासशील देशका लागि चुनौती भएको बताउँदै सार्क देशका लागि इमर्जेन्सी फन्ड निर्माणको अपिल गरे । मोदीले यसका लागि भारतका तर्फबाट एक करोड डलर उपलब्ध गराउने घोषणा समेत गरे । मोदीको कन्फ्रेन्स र पन्ड निर्माणको पहलप्रति सार्क मुलुकका राष्ट्र प्रमुखहरुले धन्यवाद ज्ञापन गरेका छन् ।