कारोना भाइरसः विश्वमा एक लाख ६० हजार सङ्क्रमित, छ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । आइतबारसम्म विश्वभर एक लाख ५९ हजार आठ सय ४४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्यांक बाहिरिएको छ । विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार एक सय ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार नौ सय सात व्यक्तिको मृत्यु भएको छ । शनिबार पाँच हजार सात सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म सात हजार सात सय ५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ ।

प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।