ठडिँदै धरहरा, दशौँ तला ढलान हुँदै

काठमाडौं । चार वर्ष अघिको भूकम्पले ढलाएको धरहरा पुनःनिर्माणको कार्य तीब्र गतिमा अघि बढेको छ । धरहराको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । धरहरा निर्माण गरिरहेको जिआर्इर्इटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तला ढलान हुने जनाएका छन । ण्

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले आज धरहरा र रानीपोखरी पुनःनिर्माणको अवलोकन गरेका छन ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए र तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।

उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहितको टोलीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनःनिर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।