काठमाडौंमा ७० हजार बालबालिकालाई खोप दिइँदै

काठमाडौं । चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने रुवेला दादुरा खोप कार्यक्रममा काठामाडौँ महानगरपालिकाले ७० हजार बालबालिकालाई खोप दिने जनाएको छ ।

खोपसम्बन्धी विद्यमान अवस्था, परामर्श र खोप अभियानको आवश्यकता विषयमा मंगलबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा २६७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन गर्ने जानकारी गराएको हो ।

कामपाले ३२ वटै वडामा तीन दिने अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । चैत १९ गतेबाट शुरु हुने खोप कार्यक्रम महानगरका ३२ वडालाई तीन भागमा बाँडेर कार्यक्रम सञ्चालन हुनेछन् । त्यसअन्तर्गत पहिलो चरण १९ गतेदेखि २१ गतेसम्म वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा चल्नेछ । यी वडामा ७९ वटा खोप केन्द्र राखिनेछन् ।

त्यसैगरी चैत २२ गतेदेखि २४ गतेसम्म वडा १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० वडा गरी १३ वटा वडामा खोप कार्यक्रम चल्नेछ । यी वडामा ९३ वटा खोप केन्द्र राखिनेछन् ।

अभियानको तेस्रो सेसन २५ गतेदेखि २७ गतेसम्म चल्नेछ । यसअवधिमा वडा नं १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडामा चलाइनेछ । यी वडामा ९५ वटा खोप केन्द्र रहनेछन् ।

रुवेला दादुराको खोप जन्मेको नौ महिनादेखिमाथि र पाँच वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ । सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनु परेको हो ।

नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसङ्ख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित र तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो सङ्ख्या २०१६ मा आइपुग्दा पूर्णखोपबाट वञ्चित हुने बालबालिकाको सङ्ख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको सङ्ख्या घटेर एक प्रतिशतमा झरेको देखिएको थियो ।