विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फर्के, सात हजार ४७७ को मृत्यु, एक लाख उपचामा

एजेन्सी । विश्वभर मङ्गलबारसम्म कूल एक लाख ८७ हजार तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसका कारण सात हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ८० हजार आठ सय ४८ जना निको भएर घर फर्किएका छन् । अझै संसारभर ९९ हजार ५० जनाले उपचार गराइरहेका छन् ।

उपचाररतमध्ये ९२ हजार पाँच सय ५९ जना अर्थात् ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको सङ्क्रमण देखिएको छ भने । छ हजार चार सय ९१ अर्थात् सात प्रतिशत व्यक्तिमा जटिल खालको सङ्क्रमण देखिएको छ ।

चीनमा मङ्गलबारसम्म ८० हजार आठ सय ८१ व्यक्तिमा सङ्क्रमण भएकोमा तीन हजार दुई सय २६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै नयाँ सङ्क्रमितको सङ्ख्या २१ र विगत २४ घण्टामा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनपछि बढी प्रभावित यूरोपेली मुलुक इटालीमा २७ हजार नौ सय ८० व्यक्तिमा सङ्क्रमण भएको र दुई हजार एक सय ५८ व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

इरानमा १६ हजार एक सय ६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोमा मङ्गलबार थप एक हजार एक सय ७८ जनामा सङ्क्रमण भेटिएको छ । सङ्क्रमणका कारण थप एक सय ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या नौ सय ८८ पुगेको छ ।

स्पेनमा मङ्गलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको छ भने चार सय ९१ को मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण चार सय ९१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी पुगेको छ ।

कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र यूरोपमा दोस्रो मुलुक बनेको छ । भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ सङ्क्रमण दर सरदर एक अङ्कमा झरेको बताइएको छ । चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ ।

सङ्क्रमणको प्रभाव यूरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ । अमेरिकामा सङ्क्रमणका कारण कूल ९३ जनाको मृत्यु भएको छ भने चार हजार सात सय ४४ जनामा सङ्क्रमण भेटिएको छ ।

भारतमा तेस्रो व्यक्तिको मृत्यु
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । ती व्यक्ति दुबईको यात्राबाट फर्किएको बताइएको छ ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो ।

यस अघि मृत्यु भएका दुबै व्यक्ति महिला भएको जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ ।