सिन्धुलीमा एक वृद्धलाई आइसोलेसनमा राखेर उपचार गरिँदै

सिन्धुली । सिन्धुली अस्पतालमा एक ८१ वर्षिय वृद्धलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । ज्वरो बढेपछि आज अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का वृद्धलाई कोरोनाको आशङकामा आइसोलेसन वार्डमा छुट्टै राखेर उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए ।

सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले त्यसका लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको बताए । यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने नियम लागू गरिएको छ ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।