भारतमा आइतबार जनता कफ्र्यु, यूएईमा श्रम स्वीकृति बन्द

एजेन्सी । भारतमा आइतबार अर्थात् २२ मार्चमा जनता कर्फ्यु लगाउने घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका अनमा आज सम्बोधन गर्दै जनताले आफ्नै लागि आफैंबाट जनता कर्फ्यु लागु गर्ने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको संक्रमण लाग्दैन भन्‍ने ठान्नु गलत भएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री मोदीले अहिले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेकोले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

उनले केही समय आफूलाई दिन र यस अवधिमा संकल्प र संयम अपनाउन अपिल गरेका छन् ।

उता संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

यहाँको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो । खाडी मुलुक यूएईमा बिहीबारसम्म एक सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख २० हजार जना प्रभावित भएका छन् । कोरोनाको सङ्क्रमण अहिलेसम्म १६९ देशमा पुगेको छ । कोराना भाइरसका कारण ८ हजार नौ सय ८२ व्यक्तिको मृत्यु भएको छ ।