अप्ठेरोमा ‘असुल्दै’ एयरलाइन्सहरु, प्रवक्ता भन्छन्ः डिमान्ड हुँदा, फेयर हाइ हुन्छ

O अक्षरपाटी संवाददाता

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को त्रास विश्वमा फैलिएको छ । संसारका १७७ देश यसको संत्रासमा मात्र होइन, संक्रमणको सामना समेत गरिरहेका छन् । आजका दिनसम्म नेपाल यसको संक्रमणमा नपरेको सरकारी भनाइ भए पनि मानिसमा त्रास र मनोवैज्ञानिक असर भने उच्च छ ।

यही कारण अध्ययन, व्यापार, जागिर र मजदुरीका लागि राजधानीमा रहेका राजधानी बाहिर घर भएकाहरु यतिबेला फर्कन आतुर छन् । कतिपय जनता फर्किरहेको पछिल्लो तथ्यांकले देखाउँछ । सामान्यभन्दा पछिल्लो एक सातामा राजधानी बाहिर जानेको संख्या २० देखि ३० प्रतिशतले बढेको ट्राफिल प्रहरीको तथ्यांकले देखाउँछ ।

घर फर्कने यात्रु बढेपछि यातायातका साधनहरुमा चाप बढेको छ । हवाइ यातायातमा पनि मानिसहरुको भीड लाग्न थालेको छ । तर यो भीड कुनै उत्सव, तिहार, वा पर्व मनाउन जानेहरुको भने होइन ।

यतिबेला सरकारले भनेअनुसार नै मानिसहरु राजधानीमा भीडभाड नहोस, संक्रमण भइहालेमा आफू र अरुमा संक्रमण नफैलियोस, आफ्नो र अरुको पनि ज्यान जोगियोस अनि सरकारले भने अनुरुप २५ जनाभन्दा माथि भेलामा नपरियोस भन्ने अपिललाई सघाउन खोजिरहेका छन् ।

तर जनताको घर फर्केर राजधानीको चाप कम गर्ने, सरकारको अपिललाई पालना गर्ने बाध्यात्मक इच्छा माथि भने हवाई सेवा सञ्चालकहरुले भने ‘अप्ठेरोमा असुल्ने’ नियत अख्तियार गरेका छन् । हरेक यअरलाइन्समा विभिन्न किसिमका (सस्तोदेखि महंगो) ‘फेयर’ हुने गरे पनि यतिबेला भने राजधानी बाहिर उडान भर्ने हरेक एअरलाइन्सले ‘फुल फेयर’ कायम गरेर बाध्यतामा परेका जनताको ढाड सेक्न थालेका छन् । तर बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने फेयर भने तीन, चार गुणासम्म सस्तो कायम गरिएको छ ।

सरकारले भने विश्वव्यापी रुपमा देखिएको ‘महामारी’ र मनोवैज्ञानि अप्ठेरोका बेला हरेक पक्ष र पाटोबाट देश र जनतालाई सघाउन औपचारिक अपिल गरे पनि ‘व्यापारको नाममा जनतालाई मर्म परेको बेला प्रहार गर्ने’ नियत विशेष गरि यतिबेला एअरलाईनहरुले देखाएका छन् ।

दैवीय विपत्ति, प्राकृतिक प्रकोप, युद्ध, आतंक र भवितब्यका बेला मानवीयता देखाउनुपर्ने अवस्थामा उल्टै भूकम्प र नाकाबन्दीको बेलाजस्तै बजारमा मास्कदेखि सेनिटाइजर, ग्यासदेखि चामल लुकाउने प्रवृत्तिसँगै एअरलाइन्सहरुले पनि बाध्यताले गाउँ फर्कनेहरुबाट उच्च दरको भाडा कायम गरेर ढाड सेक्न थालेका छन् ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश आचार्य भने , ‘डिमान्ड हाइ हुँदा मुल्य बढी हुने अर्थशास्त्रको नियम नै हो ।’

स्वाभाविक होः आचार्य


तर यस विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश आचार्य भने स्वाभाविक मान्छन् । उनले भने, ‘डिमान्ड हाइ हुँदा मुल्य बढी हुने अर्थशास्त्रको नियम नै हो ।’ तर हरेक नियमलाई नियमन गर्ने निकायले विपत्ति र अप्ठेरामा मानवीयता र राहतको भावना राख्नु पर्छ कि पर्दैन भन्ने जिज्ञासामा उनले ‘व्यवसायमै समस्या पर्यो भनेर राहत माग्न आइरहेका बेला भाडा बढी नलेउ भन्न भएन’ भन्ने जवाफ दिए ।

सह सचिव आचार्यले न्यूनतम र उच्चतम भाडा दर कायम भएको हुने हुँदा त्यसमा आफूले केही भन्न नसक्ने बताए । तर दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुर पनि समस्यामा छन्, उनीहरु पनि सुरक्षित हुन चाहन्छन् होला, उनीहरुलाई पनि राहत चाहिन्छ होला नि ? भन्ने जिज्ञासमा भने उनले फोन काटिदिए ।

एअरलाइन्सहरुले काठमाडौं धनगढी २१ मार्चको उडान दर हेर्ने हो भने श्री एअरलाइन्सले ११ हजार ६ सय कायम गरेको छ, बजकी सोही दिन घनगढीबाट काठमाडौको दर ३५ सय तोकिएको छ । त्यस्तै बुद्ध एअरले काठमाडौंबाट धनगढीका लागि २१ मार्चमा १२ हजार ४५० कायम गरेको छ भने, धनगढीबाट काठमाडौं उडानको भाडा दर ३६ सय तोकेको छ । २१ मार्चका लागि यती एअरलाइन्सले काठमाडौं नेपालगञ्जको भाडा ९ हजार ३०० सय तोकेको छ भने नेपालगञ्ज काठमाडौंका लागि २६ सय मात्रै भाडा दर कायम गरेको छ । बुद्ध एअरलाइन्सले नेपालगञ्जबाट काठमाडौं २८ सय भाडा कायम गरेको छ भने काठमाडौंबाट नेपालगञ्जको भाडा ९ हजार ८५० तोकेको छ । काठमाडौं भैरहवाको उडान बुद्धले ४६ सय, यतीले ४२ सय कायम गरेका छन् भने, भैरहवाबाट काठमाडौंको उडान यतीले २२ सय, बुद्धले २२ सय र श्री एअरलाइन्सले पनि २२ सयमै गर्ने फेयर कायम गरेका छन् ।

यता एअरलाइन्सको भाडा दरलाई लिएर सामाजिक सञ्जालमा ब्यापक बिरोध भएको छ । नेबि संघका पूर्व उपाध्यक्ष पुष्कुमार शाहीले ‘यो कालोबजारीको पराकाष्टा हो, सरकार कता छ ?’ भनेका छन् । त्यस्तै पत्रकार योगेश रावलले यसलाई एक शब्दमा ‘लुटतन्त्र’को संज्ञा दिएका छन् । कर्ण चन्दले कालो बजारीको अनुगम राम्रैसित भएको रहेछ भन्दै व्यंग्य गरेका छन् ।

यसले वर्तमान सरकारलाई पनि गिज्याइरहेको प्रतित हुन्छ । बजारमा हरेक दिन मास्क, सेनिटाइजरका लागि छापा हान्ने सरकारको अनुगमन क्षेत्रभित्र हवाई क्षेत्र पर्छ कि पर्दैन भन्ने जिज्ञासा यसले जन्माएको छ । हरेर एअरलाइन्सले उडान हुने स्थानका लागि सस्तोदेखि महंगो सम्म फेयरहरु प्रत्येक दिनका लागि छुट्याएको हुन्छ ।

अहिले जनता अप्ठेरोमा परेका बेला ती एअरलाइन्सले हरेक फेयरको सुविधा दिए नदिएको बारे सरकारले हरेक दिन अनुगमन गरेको छ वा छैन त्यसको जानकारी आम नागरिकलाई राज्यले दिनुपर्छ । होइन भने सानालाई तर्साएर ठूला पोस्ने काममा राज्य लागेको अनुमान जनताले नगर्लान भन्न सकिँदैन ।