कोरोना असरः बैतडीमा भारतसँग जोडिएका नाका बन्द, मन्दिरमा पूजाआजा

बैतडी । विश्वभरि कोरोना भाइरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाकाघाट बन्द गरिएका छन् । शिवनाथ गाउँपालिकाको नागार्जुनघाट र कुस्मौदघाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वरघाट, विनायकघाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।

फागुन २९ गते बसेको बैठकले शिवनाथ गाउँपालिका–१ र पञ्चेश्वर गाउँपालिकाका–३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय भएको थियो । खुला राख्ने घाटमा पनि उपकरणको व्यवस्था गर्नसक्ने अवस्था नभएपछि घाट बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । ‘कोरोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम हेरर हामीले गाउँपालिकासँग जोडिएका सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ’, उनले भने ।

बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले घाट बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकाको पनि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकासँग जोडिएका घाट बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताइन् । घाट बन्द गर्ने निर्णयमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरेको उपाध्यक्ष भट्टले बताइन् ।

झुलाघाट नाकामा व्यवस्थित सहायता कक्ष

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइएको छ । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक पोशाकको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम कम होस् भनेर पोशाकको व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्दिरमा पूजाआजा

कोरोनाको सङ्क्रमण नहोस् भनेर बैतडीका विभिन्न मठमन्दिरमा पूजा भाकल गरिएको छ । कोरोनाको महामारी संसारभर फैलिरहेका बेला त्यस्तो नहोस् भनेर पूजा भाकल गरिएको निङ्लाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए । चैत्राष्टमीको दिन भगवतीको मन्दिरमा सामूहिक पूजाआजा गर्ने तयारी भएको उनले बताए ।

.यस्तै सुर्नया गाउँपालिका–१ स्थित हटैराज र श्रीकेदार मन्दिरमा पनि सामूहिक पूजाको तयारी भएको वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए । सरकारले २५ जनाभन्दा बढी जमा नहुन निर्णय गरेका बेला सङ्कटमा देवीदेवताले सहयोग गर्छन् भन्ने धार्मिक विश्वासका आधारमा सामूहिक पूजा गर्ने तयारी भएको चन्दले बताए ।