चैत ९ देखि अन्तर्राष्ट्रि हवाई उडान, १० देखि लामो दुरीका सवारी साधन चल्न रोक, संयमित र उच्च मनोबल राख्न प्रधानमन्त्री ओलीको अपिल

कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले देशबासीका नाममा सम्बोधन गर्दै उच्च मनोबल राख्न र संयमित हुन अपिल गरेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका बेला प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको बताएका छन ।

उनले सम्पूर्ण शैक्षिक संस्था, सिनेमा हल, बारलगायत बन्द गरिएको बताएका छन् । उनले आम जनतालाई राष्ट्रिय भावना सिर्जना गर्न अपिल गर्दै यस घडीमा देश र देश बाहिर रहेका सबै दाजुभाइ दिदीबहिनीलाई नआत्तिन सदभाव कायम राख्न आग्रह गरेका छन । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जागिन सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले गराएका छन् ।

शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको जानकारी गराएका छन् । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय लिएको पनि बताएका छन् ।

ओलीले देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका छन् । उनले भूकम्प र त्यपछि सिर्जित परिस्थितिमा आम नेपालीले देखाएको धैर्यता, उच्च मनोबल र इच्छा शक्ति यस अडिमा पनि प्रदर्शन गर्न अपिल गरेका छन् ।

सरकार चालेका कदमहरू –

· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।
· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

· मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

(प्रधानमन्त्रीको सम्वोधनबाट)