भारतबाट स्वदेश फर्कनेको चाप बढ्यो

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीको बाटो भएर भारतबाट फर्कने यात्रुको भीड बढेको छ । यात्रुको भीड बढेपछि बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।

भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जान रोक लगाएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ । नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ ।

भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताएका छन् । शनिबार बिहान मात्रै झण्डै तीन हजार भन्दा बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ ।

अझै सीमानाकामा निकै भीड छ । विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ ।

भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसमेत खटिएको छ । शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ ।

-फाइल तस्बिर