तरकारीले आत्मनिर्भर, व्यवसायमा जम्दै महिला

बाँके । कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् ।

कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयले मौसममा न्यूनतम रु एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागतरुपमा धानखेती गर्दै आएका यहाँका कृषक आम्दानी बढी हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन् । धान खेतीमा मेहनत धेरै, उपलब्धि कम हुने भएकाले तरकारी खेती शुरु गरेको स्थानीय नरबहादुर बुढामगर बताउँछन् ।

पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्छन्, ुग्राहक घरमै आएर तरकारी किनेर लैजान्छन् ।ु यसअघि धान र गहुँखेती गर्दै आउनुभएका मगरले त्यसबाट लाउन खान पनि नपुगेपछि विसं २०५१ देखि तरकारी खेती शुरु गरेको बताए । उनले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको बताए ।

प्रदेश र स्थानीय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुने पनि हालसम्म अनुदान नपाएको उनको भनाइ छ । यद्यपि वार्षिक दुईदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका मगरले सोही रकमबाट घर परिवारको खर्च धानिरहेका छन् ।

अर्का किसान शेरबहादुर वलीले पनि एक दशकदेखि तरकारी खेती गर्दै आएको सुनाए । विभिन्न निकायबाट कृषिसम्बन्धी तालीम लिएका वली नेपालमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए । ुहामी चार भाइ मिलेर ३५ कट्ठामा तरकारी खेती शुरु गरेका छौँु, वलीले भने, ुवार्षिक दुई लाख लगानी गरेर उब्जिएको तरकारीबाट १५ लाख बराबर आम्दानी हुने गरेको छ ।ु उनले कृषि पेशाबाटै २२ जनाको परिवारको खर्च चलाइरहेका छन् ।

सहकारीमार्फत यहाँका किसानले अटोरिक्सासमेत खरिद गरेका छन् । गाँउमा उत्पादन हुने तरकारी अटोरिक्सामार्फत बजारसम्म पुग्ने भएकाले कृषकलाई बजारीकरणको समस्या छैन । यद्यपि भारतबाट आउने विषादीयुक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । भारतबाट सस्तो मूल्यको तरकारीसँग गाउँमा उत्पादित अग्र्यानिक तरकारीले प्रतिस्पर्धा गर्नुपर्ने कृषकको गुनासो छ ।

व्यवसायमा महिला

बाँकेमा झण्डै पाँच हजार उद्योगी व्यवसायी छन् । जसमध्ये १०० भन्दा बढी उद्योग महिलाले नै हाकिरहेका छन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिला आर्थिक, सामाजिकरुपले सक्रिय बन्दै आएका हुन् । चुलोचौकामा सीमित महिला सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् ।

जसले आफ्नै व्यवसाय गरेर आफूमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउँदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । उनीहरु निर्भिक र निडर भएर राम्रै व्यापार गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा व्यापार व्यवसायमा महिला सफल र उदाहरणीय बन्दै गएका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढ्दो छ । उद्योग व्यवसायमा देखिएको महिला सहभागिता र सक्रियताले व्यवसायमा महिला अब्बल छन् भन्ने प्रमाणित भइसकेको अध्यक्ष खड्काको भनाइ छ ।

ठूलाठूला होटल, व्यापार, व्यवसाय उनीहरु एक्लैले धानिरहेका छन् । घरेलु साना उद्योग हुन् वा ठूला व्यवसायमा यहाँका महिला अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सिलाइकटाइलगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाबाट पाउन सकिन्छ । हाल सङ्घमा तीन दर्जन बढी महिला आबद्ध छन् ।